१. परिचय
जलस्रोत नेपालको एक प्रमुख रणनीतिक प्राकृतिक सम्पदा हो, जसले राष्ट्रिय आर्थिक विकास, वातावरणीय दिगोपन, ऊर्जा सुरक्षा, जल सुरक्षा, खाद्य उत्पादनको आधारशिला प्रदान गर्दछ। नेपालको हिममण्डल लगायत समग्र जलस्रोतको संरक्षण, दिगो उपयोग तथा समुचित व्यवस्थापन गर्दै यसको उपलब्धता र उपयोगको अवस्थाको तथ्याङ्क तथा विवरण अध्यावधिक गर्नु आवश्यक छ। यसका साथै, जलस्रोतको मापन, अनुगमन, विश्लेषण तथा सूचना प्रवाहमार्फत सर्वसाधारण र सम्बन्धित सरोकारवालालाई विश्वसनीय तथा समयसापेक्ष जानकारी उपलब्ध गराउनुका साथै जलस्रोत तथा ऊर्जासम्बन्धी अध्ययन, अनुसन्धान र नवीन प्रविधिको विकास तथा प्रयोगलाई प्रवर्द्धन गर्न आवश्यक देखिन्छ। यसबाट एकीकृत जलस्रोत विकास तथा व्यवस्थापनको अवधारणालाई प्रभावकारी रूपमा कार्यान्वयन गर्दै जलस्रोतको दिगो र बहुआयामिक उपयोग सुनिश्चित गर्न सकिनेछ।
नेपालका हिमाली नदी प्रणाली, हिमनदीहरू, हिमताल, भूमिगत जलस्रोत, तालतलैया, सिमसार क्षेत्र र हिमपोषित जलाधार (Snow Fed River Basin) हरूले जलविद्युत्, सिँचाइ, खानेपानी, कृषि, पर्यटन तथा वातावरणीय संरक्षणलगायतका क्षेत्रमा अपार सम्भावना बोकेका छन्। , तर सँगसँगै, जलवायु परिवर्तन तथा अन्य प्राकृतिक र मानवीय कारणबाट बाढी, पहिरो, हिमपहिरो (Snow Avalanche), खडेरी, हिमताल विस्फोटनजन्य बाढी (GLOF), गेग्रान तथा सेडिमेन्ट प्रवाह, जल गुणस्तरमा ह्रासलगायतका जलजन्य जोखिमहरू समेत बढ्दै गइरहेका छन्। यस्तो परिवेशमा जलस्रोतको वैज्ञानिक मापन, नियमित अनुगमन, तथ्याङ्क तथा सूचना व्यवस्थापन, जोखिमको मूल्याङ्कन, पूर्वानुमान तथा पूर्वसूचना प्रणालीको सुदृढीकरण र नवीनतम प्रविधिको प्रभावकारी उपयोगमार्फत जलस्रोतको दिगो, समन्वयित तथा जोखिम-संवेदनशील व्यवस्थापन गर्ने लगायतका कार्यहरुलाई राज्यको महत्वपूर्ण प्राथमिकताको रूपमा स्थापित गर्न आवश्यक छ।
यी अवसरहरुलाई उच्चतम सदुपयोग गर्दै राष्ट्र निर्माणको आधारशिला तयार गर्ने साथै उदीयमान चुनौतीहरूलाई मध्यनजर गर्दै नेपाल सरकारको एकीकृत जलस्रोतको विकासमा अध्ययन अनुसन्धानको माध्यमबाट टेवा पुग्ने गरी गठन भएको जलस्रोत तथा ऊर्जा अनुसन्धान केन्द्र र साविकमा ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालय अन्तर्गत रही कार्य गर्दै आएको जल तथा मौसम विज्ञान विभागको जलविज्ञान तर्फका महाशाखा, शाखा र समस्त कार्यहरू एकीकृत गरी जल तथा ऊर्जा आयोगको सचिवालय मातहत जलविज्ञान तथा जलस्रोत अनुसन्धान केन्द्र (Centre of Hydrology and Water Resources Research) को स्थापना गरिएको छ। यस केन्द्रले जलविज्ञान संबन्धि अध्ययन/अनुसन्धान, इन्जिनियरिङ जलविज्ञान, हिम- विज्ञान (Cryosphere), बाढी, डुवान, आकस्मिक बाढी तथा बहु-प्रकोप जोखिम पूर्वानुमान, नदी प्रवाहको नियमित अनुगमन तथा पूर्वानुमान, जलस्रोत मूल्याङ्कन र जलश्रोतको समग्र सूचना व्यवस्थापनलाई एकीकृत गर्दै देशको एक अग्रणी वैज्ञानिक संस्थाको रूपमा कार्य गर्दै जानेछ।
नेपालको जलविज्ञान र जलस्रोत अनुसन्धानको क्षेत्रमा देशकै उत्कृष्ट संस्था (Centre of Excellence) को रूपमा स्थापित हुने, आधुनिकजलबिज्ञानका सम्पूर्ण अवयवहरुको नियमित तथ्याङ्क संकलन, प्रसोधन, भण्डारण तथा आम प्रयोगकर्ताको लागि वितरण को कार्य गर्ने , विश्वसनीय वास्तविक-समय (Real Time) जलविज्ञान संबन्धि सूचना र प्रभावमा आधारित पूर्वानुमान तथा पुर्वसूचना सेवा प्रदान गर्ने, हिमताल र हिमनदीहरुको नियमित अनुगमन गर्नुको साथै हिमालय जल अनुसन्धानमा राष्ट्रिय नेतृत्व गर्ने र २०३१ सम्ममा दक्षिण एसियामा अग्रणी वैज्ञानिक संस्थाको रूपमा पहिचान स्थापित गर्ने लक्ष्य सहित केन्द्रले यस दुरगामी योजना तयार गरेको छ।
यो पाँच वर्षे रणनीतिक योजना (२०२६-२०३१) नेपालको संविधान (२०७२), निजामती सेवा ऐन, नेपाल सरकारको कार्यबिभाजन नियमावली (२०८३), विपद जोखिम न्यूनीकरण राष्ट्रिय नीति (२०७५), राष्ट्रिय जलस्रोत नीति (२०७७), राष्ट्रिय जलवायु परिवर्तन नीति (२०७६), नदी तथा जल उत्पन्न विपद् व्यवस्थापन राष्ट्रिय नीति (२०८०), जल तथा मौसम बिज्ञान नीति (२०८१), विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन ऐन (२०७४), तथा नियमावली (२०७६) विपद जोखिम रणनीतिक कार्ययोजना २०१८-२०३०, दिगो विकास लक्ष्य (SDGs), सेन्डाइ फ्रेमवर्क, एकीकृत जलस्रोत व्यवस्थापन (IWRM) का सिद्धान्तहरू र जलबिज्ञानको लागी विश्व मौसम संगठन (WMO) ले तय गरेका मापदण्ड तथा मार्गदर्शनसँग सामञ्जस्य कायम गर्दै तयार पारिएको छ।
२. पृष्ठभूमि
नेपाल विश्वको जलविज्ञान विविधता भएका मुलुक मध्ये अग्रणी स्थानमा रहेको छ।, जहाँ ८,००० मिटर भन्दा माथिका उच्च हिमाली तथा हिमनदी क्षेत्र देखि तराईका भूमिगत जलभण्डारसम्म विविध जलप्रणालीहरु विद्यमान छन्। छ हजारभन्दा बढी नदीहरू र असंख्य ताल, हिमताल, सिमसार, जलाशय र भूमिगत जल प्रणालीहरूले जलविद्युत उत्पादन, सिंचाइ विकास, खानेपानी आपूर्ति, पारिस्थितिक प्रणाली संरक्षण र सामाजिक-आर्थिक विकासका लागि महत्त्वपूर्ण अवसरहरू प्रदान गरेका छन् । तर, यी जलस्रोत तथा जल प्रणालीहरु जलवायु परिवर्तन, चरम वर्षा, हिमतालमा आएको फैलावट र जलसञ्चयमा हुने वृद्धि, बाढी, पहिरो, हिम पहिरो, थिग्रेनी बहाव, नदी भूबनोट, खडेरी र जल गुणस्तर क्षयजस्ता प्राकृतिक र मानवजन्य चुनौतीहरूबाट बड्दो रुपमा प्रभावित हुँदै गएका छन्।
नेपालको भौगोलिक संरचना तराई, पहाड र हिमाल गरी तीन भागमा विभाजित भएकाले प्रत्येक क्षेत्रमा जलस्रोत तथा भौगर्भिक अवस्थासँग सम्बन्धित फरक-फरक समस्या, चुनौती र अवसरहरू विद्यमान छन्। हाल देशले बाढी, पहिरो, खडेरी, गेग्रान बहाव, हिमताल विस्फोटन (GLOF) जस्ता प्राकृतिक विपतिको सामना गरिरहेको सन्दर्भमा जलबायु परिवर्तनबाट सिर्जित थप अनिश्चयले जलश्रोतको दिगो विकासमा बाधा उत्पन्न भैरहेको छ ।
कृषि क्षेत्रको उत्पादकत्व वृद्धि गर्न सिंचाइ प्रणालीको विकास र व्यवस्थापन अपरिहार्य भए पनि परम्परागत प्रणालीबाहेक आधुनिक तथा नविन प्रविधिको अपेक्षित विकास र विस्तार हुन सकेको छैन। जलस्रोत तथा ऊर्जा क्षेत्रमा जलवायु परिवर्तनको प्रभावको अध्ययन अनुसन्धान गर्ने सरकारी संस्थाको कमि रहेको छ। अध्ययन तथा अनुसन्धानबाट प्राप्त नतिजाहरूको संरक्षण, प्रवर्द्धन, प्रसारण तथा व्यवहारमा रूपान्तरण (knowledge to practice) पनि उत्तिकै महत्वपूर्ण छ।
साविकको जल तथा मौसम विज्ञान विभागबाट सम्पादन हुँदै आएका जल विज्ञान र मौसम विज्ञान तर्फका अधिकांश कार्यहरू नेपाल सरकारको मिति २०८३/०१/३० गते राजपत्रमा प्रकाशित नेपाल सरकार (कार्य विभाजन नियमावली, २०८३ को नियम ५ को उपनियम १ को अनुसूची २ अनुसार हाल कृषि, वन तथा पर्यावरण मन्त्रालय अन्तर्गत परेकोले जल विज्ञान तर्फको कार्यहरूलाई साबिककै ऊर्जा जलस्रोत तथा सिंचाइ मन्त्रालयबाट गर्न गराउन उपयुक्त देखि नेपाल सरकार २०८३-०३-३२ को निर्णयानुसार विभाग स्तरीय जलविज्ञान तथा जलस्रोत अनुसन्धान केन्द्र (Centre of Hydrology & Water Resources Research) को स्थापना गरिएको छ।
मिति २०७२/०५/२५ मा जलस्रोत अनुसन्धान तथा विकास केन्द्रको स्थापना भई जलस्रोत विकास र व्यवस्थापनका विविध पक्षहरूमा अध्ययन, अनुसन्धानका साथसाथै जलस्रोत क्षेत्रसँग सम्बन्धि प्राविधिक जनशक्तिको क्षमता अभिवृद्धि गर्ने कार्य गर्दै आएकोमा २०८२/०३/३० मा जल तथा ऊर्जा आयोगको सचिवालय अन्तर्गत “जलस्रोत तथा ऊर्जा अनुसन्धान केन्द्र” को रूपमा पुनर्संरचना गरी कार्यसम्पादन गर्दै आएको थियो ।
त्यस्तै, जलस्रोतको समग्र विकास र व्यवस्थापनको लागि आवश्यक जल तथा हिम तथ्याङ्कहरूको नियमित अनुगमन, सङ्कलन, प्रशोधन, भण्डारण, सुरक्षिकरण र वितरणका साथै जल उत्पन्न विपद व्यवस्थापनको लागि पूर्वानुमान र पुर्वसूचना प्रदान र हिमताल बिष्फोटनबाट हुने क्षति न्यूनीकरण गर्ने जस्ता महत्वपुर्ण कार्य साविक जल तथा मौसम विज्ञान विभागको जल विज्ञान तर्फबाट भइरहको थियो । वि. सं. २०१७ मा जल सर्भेक्षण इकाईको रुपमा विद्युत विभाग अन्तर्गत स्थापना भई वि. सं. २०१९ मा जल सर्भेक्षण शाखा र बि. स. २०२३ मा जल सर्वेक्षण बिभाग को रुपमा स्तरोन्नति भै जलबिज्ञान सम्बन्धि कार्यहरुको संस्थागत सुरुवात भएको देखिन्छ । तत्पश्चात जल बिज्ञान सम्बन्धि कार्यहरु बि. स. २०२४ देखि सिंचाइ, जलश्रोत तथा जलबायु बिज्ञान बिभाग र बि. स. २०२९ सिंचाइ तथा जलबायु बिज्ञान बिभाग मार्फत भएकोमा बि. स. २०४४ मा जलबायु बिज्ञान बिभाग र बि. स. २०५० मा जल तथा मौसम बिज्ञान बिभाग नामाकरण भै जलबिज्ञान क्षेत्रमा नियमित कार्य संचालन भैआएको देखिन्छ । साबिकमा जलविज्ञान तर्फ जल तथा हिम विज्ञान महाशाखा र बाढी पूर्वानुमान महाशाखा जस्ता दुइ महत्वपूर्ण महाशाखा मा ८ शाखाहरू रहेका थिए।
नेपाल सरकार (कार्य बिभाजन) नियमावली, २०८३ बमोजिम निम्न कार्यहरू जल विज्ञान तर्फका कार्यहरू रहेका छन्:
- जल विज्ञान, पूर्वानुमान प्रणालीको विकास र विस्तार
- जल विज्ञान सेवा सम्बन्धि नीति, कानुन, मापदण्ड, तथ्यांक, योजना, कार्यन्वयन, नियमन
- बाढी पूर्वानुमान
- जल केन्द्रहरूको व्यवस्थापन र सूचना प्रवाह
- हिम नदी तथा हिमताल
- राष्ट्रिय र अन्तराष्ट्रिय संघ संस्थासंग सन्धि, सम्झौता, सम्पर्क र समन्वय
त्यस्तै, जलस्रोत तथा ऊर्जासँग सम्बन्धित अध्ययन, अनुसन्धान र विकासबाट प्राप्त ज्ञान तथा नविनतम् प्रविधिको हस्तान्तरण र कार्यान्वयनका लागि क्षमता अभिवृद्धि गर्ने कार्य साविक अनुसन्धान केन्द्र तर्फ रहेको छ ।
एकीकृत जलस्रोत विकासको अवधारणा अनुरुप राष्ट्रिय जलस्रोत नीति, २०७७ मा एकीकृत नदी बेसिन योजनाको लागि Water Accounting, Water Auditing र Water Allocation को कार्य प्रमुखताका साथ गर्ने उल्लेख रहेको छ । प्रस्तावित जलस्रोत ऐनमा समेत सो व्यवस्था महत्वका साथ् उल्लेख भएको, जल उत्पन्न प्रकोप व्यवस्थापन नीति, २०८० मा बाढी व्यवस्थापनको लागि तटबन्ध निर्माण र बाढी पूर्वसूचना प्रणालीको विकास एकीकृत रुपमा गर्ने उल्लेख भएको सोहि अनुसार उर्जा, जलश्रोत तथा सिंचाइ मन्त्रालयले एकीकृत बाढी व्यवस्थापन योजना तर्जुमा गरी लागू गरेको, जलस्रोत नीति, २०७७ को मूल रणनीतिमा, हिममण्डलको संरक्षण र हिमताल बिष्फोटन जोखिम व्यवस्थापन गर्ने कार्य रहेको र हाल बिभिन्न आयोजनाहरू मार्फत सो कार्य मन्त्रालय मार्फत सञ्चालनमा रहेको, साथै उक्त नीतिमा र प्रस्तावित जलस्रोत ऐनमा समेत जलस्रोतको एकीकृत डाटाबेश तयार गर्ने र पानी बांडफांडको लागि एकीकृत प्रारूप (Water Allocation Model) तयार गरी लागू गर्ने व्यवस्था रहेको सन्दर्भमा “जल विज्ञान तथा जलस्रोत अनुसन्धान केन्द्र (Centre of Hydrology & Water Resources Research)” को भुमिका महत्वपूर्ण रहने देखिन्छ।
३. दीर्घकालीन सोच, दृष्टिकोण, रणनीति र मूल्य-मान्यता
दीर्घकालीन सोच (Vision):
"अनुसन्धानमूलक संस्कृतिको विकास गर्दै प्रभावकारी अध्ययन, अनुसन्धान; विश्वसनीय जलविज्ञान सेवाहरू प्रदान; तथा समग्र प्राविधिक क्षमता अभिवृद्धिका कार्यक्रमहरु संचालन गर्दै जलस्रोतको संरक्षण; तथा दिगो र जलवायु अनुकूलन पूर्वाधार विकास गर्न केन्द्रले अग्रणी भुमिका खेल्ने।"
मिशन (Mission):
राष्ट्रको सबैभन्दा महत्वपूर्ण राष्ट्रिय श्रोत (National Resource) को रुपमा रहेको जलस्रोतको संरक्षण तथा दिगो विकास (Sustainable Development) र व्यवस्थापनको लागि विश्वसनीय जलविज्ञान संबन्धि सूचना उत्पादन, व्यवस्थापन र प्रसार गर्ने; जलबिज्ञान र जलश्रोतको क्षेत्रमा वैज्ञानिक अनुसन्धान अगाडि बढाउने; एकीकृत जलस्रोत व्यवस्थापन सुदृढ बनाउने; बाढी पूर्वानुमान र बहु-विपद् प्रारम्भिक चेतावनी सेवा प्रदान गर्ने; र नवप्रवर्तन, प्रविधि, साझेदारी र प्रमाणमा-आधारित निर्णय-निर्माणमार्फत जलश्रोत क्षेत्रमा राष्ट्रिय क्षमता अभिवृद्धि गर्ने।
माथि उल्लेखित दीर्घकालीन सोच पुरा गर्न केन्द्रले निम्न लिखित दीर्घकालीन रणनीति अवलम्बन गर्नेछ:-
- जलविज्ञानको सम्पूर्ण अवयव (हिममण्डल, हिमपात, वर्षा, Evapotranspiration, Evaporation, Infiltration, माटोको आद्रता (Soil Moisture), ताल-हिमताल, भूमिगत जलस्रोत, नदी बहाव, थिग्रेनी, जलगुण) हरूको जल तथ्यांक नेटवर्कको विकास, विस्तार र आधुनिकीकरणको साथै नियमित अनुगमनको लागि Remote-Sensing, Satellite imaginary र Artificial Intelligence को प्रयोग गर्ने;
- जलबिज्ञान तथा हिमबिज्ञान तथ्यांकहरुको संकलन, प्रसोधन, भण्डारण र वितरणमा आधुनिक प्रविधिको प्रयोग मार्फत सरोकारहरूले सुलभ रूपमा प्राप्त गर्न सक्ने गरी व्यवस्थापन गर्ने, यस कार्यको लागि केन्द्रीय डाटा प्रणाली (Central Data System) लाइ थप सुदृधिकरण गर्ने,
- समग्र हिममण्डलको तथा जलवायु परिवर्तनबाट जलस्रोतमा पर्ने प्रभावको अध्ययन अनुसन्धान गर्ने, जलस्रोत आयोजनाहरूलाई जलवायु अनुकुलन हुने गरी डिजाइन गर्न आवश्यक अध्ययन अनुसन्धान गर्ने, प्राप्त तथ्य तथ्याङ्कहरूलाई अन्तर्राष्ट्रियस्तरका जनरलहरूमा प्रकाशित गर्ने,
- संयुक्त राष्ट्र संघले सन २०३० सम्म दिगो लक्ष्य हासिल गर्न अघि सारेको Early Warning For all को अवधारणा अनुसार जल उत्पन्न विपद जोखिम न्यूनीकरणको लागि बाढी पुर्वासुचना र पहिरो पुर्व सूचनालाइ देश भरका सम्पूर्ण नागरिकहरुले उचित समयमा पाउने गरी प्रणालीको स्थापना, संचालन, व्यवस्थापन गर्ने,
- जलउत्पन्न विपदको पुर्व सूचनाको लागि विपद पुर्वसूचना प्रत्येक नागरिकको हात हातमा हुने गरी प्रविधिको विकास र विस्तार गर्न जल विपदमा बहुविपद (Multi-hazard) र Cascade Hazard को वैज्ञानिक अध्ययन अनुसन्धान गरी यस्ता विपदको जोखिम न्यूनीकरणको लागि उचित प्रविधि विकास र विस्तार गर्ने;
- जलस्रोत र जल विज्ञानको क्षेत्रमा जनशक्ति विकास गर्न अति उच्च वैज्ञानिक तालिमहरू (Hydrological modelling, Crop-Water Modelling, Remote Sensing, Artificial Intelligence) को पाठ्यक्रम विकास गरी तालिम तथा क्षमता अभिबृद्धिका कार्यक्रमहरु सञ्चालन गर्ने, यस्ता तालिमहरूमा स्वदेशी र बिदेशी विश्वबिद्यालयहरू संग आवधता लागू गरी अन्तर्राष्ट्रियस्तरमा प्रयोग गर्न सकिने प्रमाणपत्र दिने व्यवस्था गर्ने,
- राष्ट्रिय जलस्रोत प्रयोगशालाको स्तरोन्नती तथा क्षमता अभिबृद्धि गर्ने, सरकारीस्तरमा र निजिस्तरबाट विकास हुने जलस्रोत आयोजनाहरूको डिजाइन भेरीफिकेशनको लागि गणितीय प्रारूप (mathematical modelling) र भौतिक प्रारूप (physical modelling) गर्न सक्ने गरी विकास गर्ने । राष्ट्रिय जलस्रोत प्रयोगशालामा हुने वैज्ञानिक परिक्षणहरूलाई राष्ट्रिय गुणस्तर मानक (NS Certification) जारी गरिने गरी स्तरोन्नति गर्ने,
- जलस्रोतको विकास र व्यवस्थापनको लागि आगामी पुस्ताको लागि श्रोतको पूर्ण पुस्तान्तरण हुने गरी दिगो विकास लक्ष्यले लिएको दुरगामी लक्ष्य समेत लाई ध्यान दिई सोहि अनुसारको प्रविधि र जल विज्ञानको उचित प्रयोग गर्ने गराउने, केन्द्रलाई जल विज्ञान र जलस्रोत अनुसन्धान क्षेत्रमा Center of Excellence को रुपमा विकास गर्ने ।